काठमाडौं, पुस १२ । गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको छ ।
मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै मातहत सुरक्षा निकायलाई निर्देशन दिइएका हुन् । विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन उक्त कार्यविधि जारी गरी कार्यान्वयन गरिएको मन्त्रालयले जनाएको छ । उक्त कार्यविधिमा तोकिए अनुसारका बहालवाला तथा पूर्व कर्मचारी/सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ ।
विज्ञप्तिमा भनिएको छ – ‘उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकालयलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ ।’







