भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि

भोजपुर, माघ १७ । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गर्दछ ।

अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए। “यस वर्ष भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि भएको छ”, उनले भने, “मौसम अनुकूल भएकाले सुन्तला राम्रो फलेको देखिन्छ । हामीले पनि किसानलाई प्राविधिक सहयोग गरिरहेका छौँ ।”

उत्पादन भएको सुन्तला प्रतिकेजी रु एक सयदेखि रु एक सय २० मा बिक्री हुँदै आएको छ । जिल्लाभर नौै सय २० हेक्टर क्षेत्रफमा सुन्तला खेतीभएको केन्द्रले जनाएको छ । रासस

Related posts