झापामा एक छात्राले गरिन् आत्महत्या, शिक्षक प्रहरीको नियन्त्रणमा

झापा, माघ २५ । झापामा एक छात्राले आत्महत्या गरेकी छिन् । आत्महत्यापछि प्रहरीले शिक्षकलाई नियन्त्रणमा लिएको छ ।

गौरीगञ्ज गाउँपालिका-३ कृपाल टोल बस्ने १७ वर्षीया सोनी राजवंशीले मंगलबार दिउँसो आत्महत्याको प्रयास गरेकी थिइन् । उनलाई झुन्डिएको अवस्थामा फेला पारेपछि उद्धार गरी दमक लाइफलाइन अस्पताल पुर्‍याइएको थियो । उनको त्यहाँ उपचार क्रममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरूप्रसाद तिमिल्सेनाले जानकारी दिए ।

सोनी गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी थिइन् । शिक्षकले कुटपिट गरेका कारण उनले आत्महत्या गरेको विद्यार्थीहरूको आरोप छ । विद्यार्थीको समूह बुधबार प्रहरी कार्यालयमा समेत पुगेको प्रहरी निरीक्षक तिमिल्सेनाले बताए ।

शव पोष्टमर्टमपछि घटनाबारे थप जानकारी प्राप्त हुने पनि उनले बताए । 

Related posts