यात्रुसँग बढी भाडा असुलेको आरोपमा पाँच जना पक्राउ

काठमाडौं, फागुन २० । काठमाडौंमा यात्रुबाट निर्धारितभन्दा बढी भाडा असुलेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच जनालाई शनिबार बिहान बल्खुबाट पक्राउ गरेको प्रवक्ता एवं एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

काभ्रे घर भई सुविधा काउन्टरमा काम गर्ने २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने २६ वर्षीय सुजन हुमागाईं, चन्द्रागिरि बस्ने ३६ वर्षीय सुनिल नगरकोटी,गढीमाई सुमो सेवाका सुमो चालक २४ वर्षीय ओजिर अन्सारी र लालिगुँरास काउन्टरका चालक २४ वर्षीय कृष्णबहादुर योञ्जन पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता इकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले शनिबार बिहान बल्खु क्षेत्रमा अनुगमन गर्ने क्रममा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरेको हो ।

निर्धारण गरिएको भन्दाबढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको एसएसपी भट्टले बताए । पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

Related posts