उपराष्ट्रपति निर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ, फागुन २७ । आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गरिने जानकारी दिएको छ ।

दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उम्मेदवारविरुद्ध उजुरी पनि आजै दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म दिन सकिने छ । यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने कार्यक्रम तय भएको छ ।

उपराष्ट्रपति पदमा उम्मेदवारी दिने व्यक्ति वंशजका  आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम  समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनु पर्ने आयोगले जनाएको छ । 

Related posts