बैतडीमा जिप दुर्घटना : एकको मृत्यु, १४ जना घाइते

बैतडी, चैत २० । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । देहीमाण्डौं–गिरेगडा सडक खण्ड अन्तर्गत पञ्चेश्वर गाउँपालिका – ५ तिलकपुर भिटामा सोमबार बिहान ११ बजेतिर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–५ का ५५ वर्षीय महादेव भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार गणमेश्वरबाट देहीमाण्डौं तर्फ आउँदै गरेको से१ज २९५ नम्बरको जिप ब्रेक फेल भई दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरूमा पञ्चेश्वर गाउँपालिका–६ रोडीका ६९ वर्षीय नरेन्द्रसिंह भण्डारी, पञ्चेश्वर गाउँपालिका–५ मस्नेटाका ३३ वर्षीय निर्मला पन्त, सोही ठाउँका ८९ वर्षीय गोकुलदत्त भट्ट, ३३ वर्षीय रामप्रसाद भट्ट, ६२ वर्षीय जसुदेवी भट्ट, ४ वर्षीय मोहित भट्ट, ३५ वर्षीय मीना भट्ट, ३३ वर्षीय राजेन्द्र भट्ट, २८ वर्षीय तुलसी भट्ट, २३ वर्षीय कुन्ती भट्ट, ३४ वर्षीय केशव भट्ट, ५५ वर्षीय ललिता भट्ट र ३ वर्षीय रोशन भट्ट रहेका छन् । 

यस्तै पञ्चेश्वर गाउँपालिका–६ सेलीका २२ वर्षीय चालक राकेश कोली पनि घाइते भएका छन् । घाइतेमध्ये कुन्तीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरू सबैको उद्धारपश्चात् जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट झन्डै ७० मिटर तल खसेको बताइएको छ ।

Related posts