गुल्मीको रेसुङ्गा सामुदायिक वनमा भीषण डढेलो

गुल्मी, जेठ ६ । जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा भीषण डढेलो लागेको छ । रेसुङ्गा नगरपालिका–८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रवार बेलुकीदेखि डढेलो लागेको छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि, सुरक्षाकर्मी परिचालन भए पनि नियन्त्रणमा आउन सकेको छैन ।

शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकलसहितको टोली पुगेपनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडानम्बर ८ का वडाअध्यक्ष निरञ्जन काउछाले जानकारी दिए ।

आज शनिबार बिहानैदेखि नियन्त्रणका लागि स्थानीय, सुरक्षाको टोली खटिएको काउछाले बताए। डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा रहेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ । यो वर्ष जिल्लामा दुई हजार १०० हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ।

वनमा डढेलो लगाउने मान्छेको पहिचान नभएको र अनुसन्धान जारी रहेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले जानकारी दिइन्। वनमा आगो लगाउने दुईजनालाई पक्राउ गरी वन ऎन २०७६ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान भइ रहेको शर्माले बताइन्।

Related posts