मुर्रा राँगाको टिकाटिप्पणीमाथि महासंघको ध्यानाकर्षण

काठमाडौ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले भारतबाट प्राप्त हुन लागेका १५ वटा मुर्रा राँगोको विषयमा भइरहेको टिकाटिप्पणीबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

मुर्रा राँगो नेपाल ल्याउने निर्णयको विरोध गर्दा अर्थतन्त्रमा एकतिहाई योगदान गर्ने कृषि क्षेत्रलाई अपमान गर्ने र युवाहरूलाई कृषिबाट विकर्षित गर्ने लक्ष्य देखिएको महासंघले जनाएको छ । नेपालको अर्थतन्त्रमा कृषिको योगदान, कृषि क्षेत्रमा पशुपालन, पशुपालनमा भैँसीको योगदान र भैँसीको उत्पादन र उत्पादकत्व बृद्धिमा उन्नत नश्ल सुधार, कृतिम गर्भाधान र त्यसका लागि मुर्रा जातको भैँसीको उपयोगिता र प्रभावकारिता बारे कुनै ज्ञान नभएको समेत पाइएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘

तर आफैले आफैलाई ब्रम्हज्ञानी ठान्ने महाकाली बेचुवा राजनीतिक दलहरू, ‘जान्नेलाई छान्ने’ भन्दै आफू बाहेकका आम नागरिक, किसान र मजदुरहरूलाई ‘नजान्ने’हरुले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरिरहेका छन्,’ विज्ञप्तीमा भनिएको छ । ‘नेपाली किसानको हितलाई ध्यानमा राखी पशुपालक किसानहरूलाई उच्च उत्पादनयुक्त पशु नश्ल उपलब्ध गराउन सम्माननीय प्रधानमन्त्रीले भारत भ्रमणको अवसरमा गरेको पहलका लागि हामी नेपालका किसानहरूको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ,’ विज्ञप्तीमा लेखिएको छ ।

नेपाल जस्तो किसान बाहुल्य देशमा देशको जनसंख्याको दुईतिहाइ हिस्सा ओगट्ने किसानहरू नेपालका प्रमुख उत्पादक शक्ति हुन्, देशको राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनका मुख्य चालक शक्ति हुन् । यहीकारण, किसानको आयस्रोत विकास गर्ने लक्ष्यसहित मुर्रा राँगो ल्याउने सरकारको निर्णय स्वागत गर्ने महासंघले जनाएको छ ।

Related posts