गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार

गाेरखा, जेठ २८ । गोरखा घुम्ने पर्यटकलाई अब पृथ्वीनारायण शाहको मूर्ति उपहार दिइने भएको छ । गोरखा घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई गोरखाको पहिचान र चिनारी झल्कने पृथ्वीनारायण शाहको मूर्ति मायाको चिनोका रूपमा दिइने गोरखा नगरपालिकाले जनाएको हाे ।

नगरपालिकाले त्यसका लागि पालिका भित्रै मूर्ति बनाउन तालिम दिएको छ । १५ जना महिलाले मूर्ति बनाउन विशिष्ट तालिम लिएका मेयर कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

स्थानीयको आयआर्जन पनि बढाउने उद्देश्यले तालिम दिइएको उहाँले बताउनुभयो । उहाँका अनुसार विशिष्ट तालिम अघि नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको मूर्ति तथा मूर्तिको फ्रेम बनाउन एकमहिने आधारभूत तालिम दिइएको थियो । 

गोरखा आएर फर्कने पर्यटकले गोरखामा उत्पादित तथा गोरखाको इतिहास जोडिएको मायाको चिनो प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मूर्ति बनाउने तालिमको आयोजना गरिएको मेयर रानामगरले बताउनु भयाे ।

तालिमले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै रानामगरले यसबाट महिलालाई दैनिक आयआर्जनका साथै आत्मनिर्भरसमेत बनाउने बताउनुभयो । तालिम सञ्चालन गर्न नगरपालिकाले चालु आर्थिक वर्षमा तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । रासस

Related posts