काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अतिरञ्जना नगर्न आग्रह गरेको छ ।
सोमबार सिआईबीका प्रवक्ता (एसपी) सञ्जयसिंह थापाले विज्ञप्ति प्रकाशित गरी त्यस्तो आग्रह गरेका हुन् । कसुरसँग असम्बन्धित व्यक्ति र पदाधिकारीको नाम जोडेर अतिरञ्जित र भ्रामक रूपमा प्रकाशित सामग्रीबारे ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ ।
बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको १४३ रोपनी जग्गा संगठित रूपमा किर्ते गरेर व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने काममा संलग्न व्यक्तिहरू उपर अहिले अनुसन्धान भइरहेको ब्युरोले जनाएको ।
ब्युरोले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हाल ब्युरोबाट जारी अनुसन्धान ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत किर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको अवगत गराउन चाहन्छौं ।’






