कांग्रेस केन्द्रीय समितिको बैठक एक बर्षपछि बस्दै

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक एक वर्षपछि बस्दैछ। बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्न लागेको हो। केन्द्रीय समिति बैठक करिब एक सातासम्म चल्नेछ। गत असार २० गते देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी जुटेको थियो।

आज बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीका गतिविधि, भ्रातृ संगठनहरूको अवस्थाबारे छलफल हुने बताइएको छ। कांग्रेसले गत वर्ष असार २७ गतेदेखि साउन २ गतेसम्म केन्द्रीय समिति बैठक राखेको थियो। विधानअनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। केन्द्रीय समिति ठूलो भएको र तत्कालै बैठक बस्न असम्भव रहने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय पनि केन्द्रीय कार्यसम्पादन समितिमार्फत गर्दै आएको थियो।

कांग्रेसले गत मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको समीक्षासमेत गरेको थिएन। केन्द्रीय सदस्य मधु आचार्यले केन्द्रीय समिति बैठक बोलाउन केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्रसमेत दर्ता गरेका थिए। यसैबीच असार २१ र २१ गते जिल्ला सभापतिहरूको बैठक पनि भएको थियो। बैठकले १४ बुँदे आन्तरिक प्रतिबद्धतासमेत गरेको थियो।

Related posts