भ्रष्टाचारका फाइल खोल्न अध्यक्ष प्रचण्डलाई माओवादी केन्द्रीय सदस्यहरुको दबाब

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीभित्रका नेता र देशका भ्रष्टाचारीको फाइल खोल्न तीव्र दबाब दिएका छन्। काठमाडौंमा जारी केन्द्रीय समिति बैठक अन्तर्गत बिहीबार बोल्ने नेताहरूले भ्रष्टहरुको फाइल खोलेर कारबाही गर्न माग गरे।

पछिल्लो दिन सुन प्रकरणका विषयमा भने कोही नेताले कुरा उठाएका छैनन्। बरु, प्रधानमन्त्रीले लिएको कदममा बोल्ने सबैले समर्थन जनाए। बाँकेका नेता आईपी खरेलले भने, ‘सरकारले सबैतिरका भ्रष्टाचारका फाइल खोलेकोमा समर्थन छ, अब माओवादी पार्टीभित्रका भ्रष्टाचारीलाई ठोकौँ।’ नेता नरेन्द्र न्यौपानेले पार्टीबाट लाभको पद लिएका सबै नेताको सम्पत्ति छानबिन गर्न माग गरे। ‘हाम्रा नेताहरूको पनि सम्पत्ति शुद्धीकरण गर्नुपर्छ,’ न्यौपानेले भने, ‘अनि मात्र देशका भ्रष्टविरुद्ध लड्न सजिलो हुन्छ, जनताको साथ पाइन्छ।’

‘कुनै उद्योग नभई, कुनै काम नगरी नेतहरुको जीवनशैली कसरी अचम्म लाग्दो भयो?’ उनले प्रश्न गरे, ‘पार्टी बनाउन र जनविश्वास जित्न हामी भित्रैका नेताको गतिविधि नियाल्नुपर्छ।’

राष्ट्रिय सभा सदस्य समेत रहेका नरबहादुर विष्टले २०६५ देखि ८० सम्म मन्त्री बनेका नेताहरूको समीक्षा गर्न अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराए। ‘जनताका लागि ल्याउने भनेको समाजवाद तपाईं पटकपटक मन्त्री भएका नेताहरूलाई आइसक्यो,’ विष्टले भने, ‘अब किन र कसले ल्याउने समाजवाद?’ केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले ०४६ यताका सरकारी र उच्च पदस्थ कर्मचारी, नेताहरुको सम्पत्ति छानबिन गर्न माग गरे। ‘त्यसयताका सबैको सम्पत्ति छानबिन गरेर एउटा विधि बनाउन माग गर्दछु,’ घिमिरेले भने, ‘अध्यक्षको सुशासन अभियानलाई हाम्रो दह्रो साथ रहनेछ। यसमा अझै निर्मम बन्नुहोस्। यो काम प्रचण्ड र नारायणकाजीले मात्रै गर्न सक्छन् भन्ने जनतामा परेको छ।’ उनले देशको भ्रष्टाचार घटाउन शक्तिशाली समिति चाहिने पनि सुझाए। 

‘अधिकारसम्पन्न छानबिन समिति बनाएर ०४६ सालछाडिका सबै सुविधामा रहेका उच्च पदस्थ राजनीतिक नेताहरु र प्रशासकहरुको सम्पत्ति छानबिन गर्ने तयारी गर्नुहोस्,’ घिमिरेले प्रचण्डलाई भने। नेता नीलकण्ठ तिवारीले माओवादी नेताका परिवार र तिनका सम्पत्तिप्रतिको बुझाइ सही हुनुपर्ने बताए। ‘हाम्रो पार्टीमा अहिले कोही नेताले काम पाएका छैनन्, कसैलाई फुर्सद छैन,’ उनले भने, ‘प्रधानमन्त्री परिवारबाट बाहिर जानुपर्छ, परिवारलाई हर्ताकर्ता बन्न दिनु हुँदैन।’

यस्तै अर्का नेता शिवराम यादवले पार्टी पेरिसडाँडाबाट चल्नुपर्ने बताए। रोल्पाका दीपेन्द्र पुनले नेताहरूको बदलिँदो जीवनशैलीले आम कार्यकर्ता निराश बनेको बताए। ‘हाम्रो पार्टी नराम्रोमध्यको राम्रो हो, सीमित मान्छेको पदप्रतिष्ठाको चिन्ताले पार्टी बन्दैन,’ उनले भने।

सिन्धुपाल्चोकका सांसद समेत रहेका माधव सापकोटाले जनताकोमा पुग्दा उत्साह पैदा हुने गरे पनि उच्च नेता भेटेपछि उत्साह मर्दै गएको बताए। उनले सबै कमिटी निर्वाचित भएर आउनुपर्ने बताए। ‘एउटा नेता कतिपटक सांसद र मन्त्री बन्न पाउँछ?’ सापकोटाको प्रश्न छ, ‘यो प्रष्ट पारौँ।’

लेखनाथ न्यौपानेले पार्टी भताभुङ्ग अवस्थामा रहेको बताउँदै नयाँ कार्यक्रम र विचार नदिने हो भने माओवादी पनि ओरालो यात्रामा हुने बताए। ‘यस्तो बेला पार्टी पुनर्गठनले मात्र पुग्दैन यो आन्दोलन पुनर्गठन गरेर नयाँ थाल्नुपर्छ,’ न्यौपानेले भने। डीपी ढकालले विधान सम्मेलन नगरी नीति सम्मेलन गर्न प्रस्ताव गरे। यस्तै जयपुरी घर्तीले सिधै विशेष महाधिवेशन गर्न सुझाव दिइन्।

‘विधान सम्मेलनभन्दा विशेष महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने मेरो सुझाव छ,’ घर्तीले बैठकमा भनिन्, ‘विधान सम्मेलनअघि केन्द्रीय समिति बढाउने र फेरि विधान संशोधन गरेर घटाउने कुरा व्यावहारिक हुँदैन भन्ने मलाई लाग्छ।’

अध्यक्ष प्रचण्डले मंसिरमा विधान सम्मेलन र चैतभित्र विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले दुई अंकको केन्द्रीय समिति राख्न आग्रह गरे। अहिले माओवादीको ३८५ सदस्य छन्। यो घटाउनुपर्ने अधिकांश नेताको माग छ।

अर्का नेता गोम्बु शेर्पाले भने, ‘परिवारका सदस्यले अध्यक्ष प्रचण्डको प्रतिष्ठा धुलोमा मिलाउँदैछन्, पारिवारिक सन्जाल व्यवस्थापनले अध्यक्षलाई च्याप्यो।’लक्ष्मी पुनले पुस्तान्तरण गर्न सुझाव दिइन्।‘एउटै नेता लामो समय नेतृत्वमा रहनु हुँदैन,’ उनले भनिन्।

शिवकुमार डाँगीले प्रचण्डलाई प्रश्न सोधे, ‘तपाईंसँग लाम लागेका धेरैले अहिले किन तपाईंको साथ छोडेका होलान् अध्यक्ष कमरेड प्रचण्डज्यू? यो तपाईंको गल्ती कि उनीहरुको? समीक्षा गरेर अघि बढ्न आवश्यक छ।’नेता विशाल खड्काले चुनावको विधिमा पार्टी जानुपर्ने बताए।

कार्यकर्तालाई कल्याणकारी कोष सुरु गर्न उनले नेतृत्वको ध्यानाकर्षण गराए। बुधबारदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीति प्रतिवेदनमाथि नेताहरूले धारणा राखिरहेका छन्।

Related posts