काठमाडौँ । सङ्घीय निजामती सेवा ऐन जारी भएको एक वर्षपछि मात्र कर्मचारीको अनिवार्य अवकाश उमेर हद ६० वर्ष लागू हुने भएको छ। निजामती कर्मचारीको अनिवार्य उमेर हद ६० वर्ष बनाउने तर ऐन जारी भएको एक वर्षपछि मात्र लागु हुने गरी विधेयक मस्यौदामा प्रस्ताव गरिएको हो।
मन्त्रालयका अनुसार विधेयक मस्यौदाका बारेमा सुझाव सङ्कलन गर्ने क्रममा कर्मचारी सङ्गठनहरूले कर्मचारीको उमेर एकमुष्ट रूपमा उमेर हद ६० वर्ष बनाउन सुझाव दिएका थिए। निजामती कर्मचारी सङ्ठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरूसँग गरिएको छलफलमा एकमुष्ट रूपमा अवकाश उमेर हद ५८ वर्षलाई बढाएर ६० वर्ष बनाउन सुझाव दिएको बताए । तर अहिले लोक सेवा आयोगको राय हुँदै मन्त्रीपरिषद्मा पुगेको मस्यौदामा भने कर्मचारीको अवकाश उमेर हद एक वर्षपछि मात्र लागु हुने गरी प्रस्ताव गएको बुझिएको छ ।
मन्त्रालयले भने एकै पटक ५८ वर्षबाट ६० वर्ष उमेर हद कायम गर्दा नयाँ जनशक्तिले सेवामा प्रवेश गर्न रोक लाग्ने भएकाले ऐन जारी भएको एक वर्षपछि मात्र लागू हुने गरी प्रस्ताव गरिएको जनाएको छ। यसअघिको काशीराज दाहाल नेतृत्वको उच्चस्तरीय प्रशासनिक सुधार सुझाव समितिले पनि कर्मचारीको उमेर हद ६० वर्ष बनाउन सुझाव दिएको थियो। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।






