पूर्वगृहमन्त्री खाँण तत्काल रिहा नहुने

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई न्यायाधीश कृष्णराम कोइरालाको इजलासले धरौटीमा छोड्ने आदेश दिएको छ।

जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मंसिर १५ गतेको सुनुवाइका क्रममा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो। खाँण तत्काल रिहा भने गरिने छैन।

केन्द्रीय कारागार कार्यालयका प्रमुख ललित बस्नेतका अनुसार खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएर प्रक्रिया पूरा भएपछि छुट्नुहुनेछ।

नेता खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारेमा संयुक्त इजलासमा राय बाझिएको थियो। न्यायाधीश पाण्डेले खाँणसँग ३० लाख धरौटी माग गरी थुनामुक्त गर्ने राय दिनुभएको थियो।

अर्का न्यायाधीश खरेलले तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी खाँण अहिले नै निर्दोष रहेछन् भनी भन्न नसकिने भन्दै उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने राय दिनुभएको थियो। राझ बाझिएपछि सोही इजलासले खाँणको निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुरुप हिजो सुनुवाइ भएको थियो।

अदालतको आदेशबमोजिम अब खाँणले ३० लाख रुपियाँ बराबर नगद, जमानत वा बैंक ग्यारेन्टी बुझाएर रिहा हुन सक्नेछन्। तर खाँणले यो धरौटी काठमाडौं जिल्ला अदालतमा बुझाउनुपर्नेछ। उच्च अदालतको आदेशको पत्र पाएपछि जिल्ला अदालत काठमाडौंले खाँणसँग धरौटी रकम वा बैंक ग्यारेन्टी लिनेछ।

केन्द्रीय कारागार कार्यालयका प्रमुख ललित बस्नेतका अनुसार खाँणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएर प्रक्रिया पूरा भएपछि छुट्नुहुनेछ ।

Related posts