वीरगंज, पुस १० । बारा जिल्लाको कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव भ्रष्टाचारको मामिलामा गन्हाईसकेको समाचार प्राप्त हुन आएको छ । अधिकृत यादवले लेखा अधिकृत सुरेन्द्र प्रसाद चौधरीको सहयोगमा जिन्सीका सामानहरु खरिद बिना नै बिल मात्र प्रयोग गरी लाखौं लाखको चेक काटने गरेको स्रोतले जनाएको छ ।
अधिकृत यादवले जिन्सीको अलावा ईन्धनमा पनि व्यापक भ्रष्टाचार गरिरहेको सोही नगरपालिकाका एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । भ्रष्टाचारको मामिलामा गन्हाईसकेका अधिकृत यादवले तत्कालिन जिल्ला विकास समिति बारामा कार्यरत रहँदा भ्रष्टाचार सन्दर्भमा निलम्बनमा परेका थिए ।
पछि अधिकृत यादवले भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाएको दम्भ र पहुँचले निलम्बन फुकुवा गराउन सफल भएका थिए । पछिल्लो कार्यकाल पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत रही करोडौं करोड भ्रष्टाचार गर्दा पर्सागढीवासीले उनलाई धपाएका थिए । उनै यादव भ्रष्टाचारी हाल बाराको कोल्हवी नगरपालिकामा रही भ्रष्टाचारको तानाबाना बुन्दै नगरवासीलाई आजित गरिसकेको स्रोतको भनाई रहेको छ ।
भ्रष्टाचारको मामिलामा सुक्ष्म अनुभव बटुलेका अधिकृत यादवले मैले यतिकै भ्रष्टाचार गर्दिन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सामान्य प्रशासन मन्त्रालय लगायतका नियमनकारी निकायको पदाधिकारीहरुलाई समय–समयमा भेटी चढाउँदै आएकोले कही कतैबाट आफुलाई कारवाही हुन नसक्ने ठोकुवा गर्दै चिया पसलहरुमा गफाडी जस्तो गफ दिने गरेको उनको भनाईलाई उदृत गर्दै समाचार स्रोतले बताएको छ ।






