कर्मचारीको संलग्नताबारे छानविनको विषय बनाउँदै अख्तियार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद गर्ने क्रममा निजामती कर्मचारीको संलग्नता देखिएको विषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि छानबिनको विषय हुने भएको छ।

सुन तस्करीमा नागरिक उड्डयन कार्यालय, गौचरनका केही कर्मचारीको समेत संलग्नता जोडिएकाको सन्दर्भलाई आयोगले समेत अनुसन्धान गर्न लागेको हो।

गत मंसिर २१ गते १४ किलो सुनसहित चन्द्र घले पक्राउ परेपछि त्यसमा निजामती कर्मचारीको समेत संलग्नता रहेको तथ्य बाहिर आएको थियो।

भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजक एक समिति बनाई त्यस विषयमा अनुसन्धान गरेको थियो । समितिले पुस ८ गते प्रतिवेदन बुझाएको थियो ।

अनुसन्धानले सुन तस्करीको कार्यमा विमानस्थलमा कार्यरत कर्मचारी प्लम्बर शेरबहादुर बस्नेत, सेवा निवृत्त भई हाल करारमा कार्यरत सफाइ कर्मचारी रमेश देउला, कार्यालय सहयोगी लेकबहादुर तामाङ, एयर कन्डिसनर चलाउने/मर्मत गर्ने राधाकृष्ण श्रेष्ठ र एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठले सहयोगीको भूमिका निर्वाह गरेको तथ्य बाहिर ल्याएको थियो।

भन्सार कार्यालयका अनुसार उनीहरूलाई सहयोगीका रूपमा कायम गरी गत मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको थियो।

भन्सार ऐन, २०६४ अनुसार कैद सजाय र बिगो कायम गरी मुद्दा दायर गरिएकोमा आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ अनुुसार घूस लिएको विषयमा अनुसन्धान गर्ने छ।

सुन चोरी र पैठारीको कार्यमा कर्मचारीहरुको समेत संलग्नता रहेकाले त्यस विषयमा गरिएको छानबिनको फाइल आयोगमा पठाउनुपर्ने सरकारी वकिल कार्यालयले मुद्दा चलाउने राय लेख्ने क्रममा राय दिएको थियो।

यही रायको आधारमा कार्यालयले छानबिनको फाइल आयोगमा बुझाउन लागिएको कार्यालयले जनाएको छ। जिल्ला अदालतमा पेस भएको आरोपपत्रको साथमा समावेश भएको रायमा भनिएको छ– ‘उनीहरुले डीबी भन्ने दानबहादुर गुरुङसँग घूसरिसवत लिई सुन चोरी पैठारीसम्बन्धी कार्य गरेकाले अनुसन्धानका लागि प्रतिवादीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत लेखी पठाई पाउन अनुरोध छ।’

यस विषयमा निर्णय भई फाइल आउनासाथ उजुरीका रुपमा लिएर आयोगले अनुसन्धान अघि बढाउने आयोगका प्रवक्ता नरहरि घिमिरेले बताउनुभयो । आयोगका अनुसार अहिलेसम्म त्यसको उजुरी परेको छैन । उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाउने प्रवक्ता घिमिरेको भनाइ छ।

प्रतिवेदनमा मीनबहादुर घलेसहित टोलीले विदेशबाट नेपालमा पटकपटक गरी हालसम्म १ सय ३८ केजी सुन अवैध रुपमा भित्र्याइएको उल्लेख गरिएको छ।

पछिल्लोपटक गत मंंसिर २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको १४ केजी सुन बरामद गरिएको विषयमा छानबिन गरी तयार पारिएको प्रतिवेदनमा खुलाइएको हो।

एक वर्षमा ५२ पटकसम्म दुबई गएको ट्राभल हिस्ट्री रहेका चन्द्र घलेले तीनपटक सुन ल्याइसकेको स्वीकार गरेका थिए । मीनबहादुर घलेले कृष्णकुमार श्रेष्ठ र चन्द्र घलेलाई परिचालन गरी दुबईस्थित अंकित अग्रवालको नामले चिनिने व्यक्ति र गुरु भन्ने व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गर्दै आएको समितिले जनाएको छ।

विमानस्थलबाट सुन बाहिर निकाल्न डीबी गुरुङले विमानस्थलमा कार्यरत कर्मचारीसँग सेटिङ मिलाउने गरेको प्रतिवेदनमा भनिएको छ। १४ किलो सुन तस्करी गर्दा ५ लाख विमानस्थलका कर्मचारीलाई, १/१ लाख आफू र डीबी गुरुङलाई र ७५ हजार चन्द्र घलेलाई दिने गरेको मीनबहादुर घलेले अनुसन्धान अधिकृतसमक्ष बयान दिएका थिए।

Related posts