तीनजनाले लिए गैरआवासीय नागरिकता

ताप्लेजुङ । ताप्लेजुङबाट अहिलेसम्म तीनजनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन्। जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा रमेशप्रसाद सिग्देलका अनुसार ताप्लेजुङबाट अहिले सम्म तीनवटा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन्।

नर्वे बस्दै आएका आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिनका विशालकुमार सिटौलाले ताप्लेजुङ प्रशासन कार्यालयबाट पहिलो गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका थिए। दोस्रोमा संयुक्त अधिराज्य बस्ने मेरिङदेन गाउँपालिका २ सान्थाक्राका सविता लिम्बू र तेस्रोमा अस्ट्रेलिया बस्ने फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङचुङ्गोलाका टाँसी लामा शेर्पाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

सम्बन्धित वडाको सिफारिससहितको निवेदन, नेपाली नागरिकता त्याग गरेको प्रमाण÷नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता-नागरिक भएको प्रमाण, सार्क सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको प्रमाण, हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपिसहितका कागजात पेस गरेको खण्डमा सम्बन्धित प्रशासन कार्यालयबाट गैर आवासीय नेपाली नागरिकता प्रदान हुनसक्ने व्यवस्था रहेको छ। गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको हकमा राजनीतिक तथा प्रशासनिक अधिकारबाहेकका सम्पूर्ण अधिकार प्रयोग गर्न पाउने व्यवस्था रहेको छ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली,२०८० लागु भएपछि गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको नयाँ व्यवस्था सुरु भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नागरिकतासम्बन्धी संशोधन ऐन प्रमाणीकरण तथा भदौमा मन्त्रिपरिषद्ले नियमावली पारित गरेपछि गैरआवासीय नेपालीलाई नागरिकता लिने बाटो खुलेको छ।

Related posts