आज महाशिवरात्रि, देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौँ, फागुन २५ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीको दिन मनाइने महाशिवरात्रि पर्व आज देशभर मनाइँदैछ । आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी महाशिवरात्रि मनाइँदैछ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगतलाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व (जगतको कल्याण गर्ने तत्त्व)ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

शिवजीलाई दूध, धतुरो तथा बेलपत्र चढाउने गरिन्छ । यस दिन व्रत बसेर रातभर जाग्राम रहेमा मनोकामना पूरा हुने विश्वास जनमानसमा छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

आजको दिन पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । पशुपति क्षेत्रभित्र गाँजा, भाङ, धतुरोजस्ता पदार्थको प्रयोग गर्न नपाइने जानकारी पशुपति क्षेत्र विकास कोषले दिएको छ । हरेक वर्षझैं यस वर्ष पनि पशुपतिनाथमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ ।

Related posts