ज्येष्ठ नागरिक ऐन आउँदै , आम्दानीको १० प्रतिशत आमाबुवालाई

भक्तपुर, जेठ २० । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ज्येष्ठ नागरिक ऐनमा सन्तानले आफ्ना बुवाआमाका लागि आम्दानीको १० प्रतिशत खर्च गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभएको छ । सामुदायिक विकास तथा सेवा केन्द्र, सामुदायिक प्रहरी सेवा केन्द्र गट्ठाघरको स्थापना दिवस एवं सामुदायिक दर्पण स्मारिका विमोचन कार्यक्रममा मन्त्री चौधरीले छिट्टै नियमावली जारी हुने बताउनुभएको हो । 

उहाँले विधेयक समितिले ज्येष्ठ नागरिक नियमावलीको संशोधन पारित गरेको र संसद्बाट जारी हुने बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो, “सरकारले छोराछोरी वा हकवालाले आफ्नो औपचारिक वा अनौपचारिक जुनसुकै क्षेत्रबाट हुने कमाइको १० प्रतिशत रकम आफ्नो बुबा आमालाई दिनैपर्ने व्यवस्था गर्न लागेका छौँ ।” उहाँले विधेयक पारित भएर ऐनले दिएको अधिकार ७५३ वटै पालिकामा पठाएर कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले दिएको हकलाई अब ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुहुने छ ।” मन्त्री चौधरीले सवारी दुर्घटना न्यूनीकरण गर्न सवारीचालक अनुमतिपत्र वितरण गर्दा ट्राफिक नियमबारे चालकलाई पूर्ण रूपमा सचेतना प्रदान गर्नुपर्ने बताउनुभयो ।  गोरखापत्रमा समाचार छ ।

 

Related posts