बकर इदको शुभकामना

काठमाडौँ, असार ३ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले विविधतामा एकता नेपालीको मौलिक पहिचान र विशेषता रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अज्हा) को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “सही बलिदान त्यही हो, जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ,” उहाँको सन्देशमा उल्लेख छ । 

यस पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्दै सभ्य र समृद्ध समाज निर्माणका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन पर्वले सहयोग पुग्ने विश्वास गर्नुभएको छ । 

नेपालमा मनाइने पर्वले मुलुकमा एकता, सद्भाव, भाइचारा र अपनत्व भावलाई प्रोत्साहन गर्दै यहाँको मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्बर्धनमा टेवा पुग्ने गरेको उहाँको सन्देशमा उल्लेख छ । उहाँले भन्नुभएको छ, “त्याग, समर्पण र बलिदानको प्रतीकका रूपमा पनि मनाइने यस पर्वले आपसमा मिलेर बस्न सन्देश दिनुका साथै सहयोग आवश्यकता रहेकालाई मद्दत गर्न उत्प्रेरित गर्दछ ।”

यसैबिच, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बकर इदको शुभकामना दिँदै यस पर्वले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

“यो पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको छ । साथै यस पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने मैले विश्वास लिएको छु,” सन्देशमा उल्लेख छ । सभापति देउवाले नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गम स्थल रहेकाले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता रहेको बताउनुभयो । उहाँले सबैलाई आदर र सम्मान गर्ने नेपालको आफ्नै विशिष्ट परम्परा रहेको उल्लेख गर्नुभयो । 

Related posts