दलित भएकै कारण गोरखामा स्वास्थकर्मीलाई गाई छुन दिएन, पर्यो प्रहरीमा उजुरी

गोरखा । फिल्डमा खटिएका बेला आफूमाथि जातीय विभेद भएको भन्दै गोरखा भेटेरेनरी अस्पतालका पशु स्वास्थ्यकर्मीले प्रहरीमा उजुरी गरेका छन्। गत आइतबार भीमसेन थापा गाउँपालिका वडा नम्बर-७ झप्रीमा खोप लगाउन जाँदा स्थानीय मीरा पौडेलले आफूमाथि जातीय विभेद गरेको भन्दै मंगलबार पशुस्वास्थ्यकर्मी प्रीति गैरे र विशाल सिर्मलले प्रहरीमा उजुरी गरेका हुन्। उनीहरुले आज अस्थायी प्रहरी चौकी बोर्लाङमा उजुरी दिएका हुन्।

‘हामी गोरखा भेटेरेनरी अस्पतालद्वारा यही असार ५ गतेबाट सन्चालन भएको पशु पूर्ण खोप अभियान अन्तर्गत त्यहाँ पशुलाई खोप लगाउन गएका थियौँ। खोप लगाउन गोठमा जान खोज्दा तिमी त तल्लो जातको, हाम्रो गाई छ तिम्ले छुुनु हुन्न भनेर विभेद गर्नुभयो। अनि मसँगै गएको विशाल भाइ र म त्यहाँबाट बाहिर निस्कियौँ, हामीसँगै गएका लक्ष्मण श्रेष्ठ हुनुहुन्थ्यो, उहाँले खोप लगाइदिनुभयो’, गैरेले थाहाखबरसँग भनिन्। गैरे र श्रेष्ठ गोरखा भेटेरेनरी अस्पतालमा करारमा कार्यरत छन् भने सिर्मल ओटेजी गरिरहेका छन्।

दलित भएकै कारण आफूहरुलाई खोप लगाउन नदिएकाले आवश्यक कानुनी हुनुपर्ने सिर्मलको माग छ। उनी भन्छन्, ‘हामी दलित भएकै कारण गोठमा पसेर खोप लगाउन नदिएर विभेद गर्नुभएको छ। यस्तो विभेद आगामी दिनमा अरु कोही कसैमाथि नहोस्। हामीले यस्तो विभेद सहेर बस्नु हुन्न। बस्यौँ भने झनै हामीमाथि विभेद भइरहन्छ भनेर आवश्यक कारबाहीका माग गरेर वडा कार्यालय र प्रहरीमा उजुरी गरेका हौँ।’

बोर्लाङ प्रहरी चौकीका प्रमुख धनबहादुर जिटीले आज उजुरी परेको बताउँदै भोलि त्यस विषयमा दुईपक्षीय छलफल गर्ने जानकारी दिए। थाहाखबर बाट

Related posts