लुम्बिनी काङ्ग्रेस महामन्त्री बिक्रम खनाललाई पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौं । नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनाललाई नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिले ७ दिने स्पष्टीकरण सोधेको खुल्न आएको छ।

गत २०७९ को संघीय/प्रदेश आम निर्वाचनमा पार्टीका आधीकारिक उम्मेदवारलाई अन्तरघात गरेको, आफ्ना नजिकका पार्टी पदाधिकारी तथा कार्यकर्तालाई भेला गरी अन्य पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन गरेको लगायतका बारे केन्द्रिय अनुशासन समितिमा उजुरी परेको थियो।

विशेष गरी ०७९ को आम निर्वाचनमा नवलपरासी पश्चिम निर्वाचन क्षेत्र ०१ का पार्टीका आधिकारीक उम्मेदवार बिनोद चौधरीलाई हराउन गुटगत भेला गरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई घण्टीमा भोट हाल्न योजना बनाई निर्देशन गरेको अडियो टेपसमेत बाहिरिएको थियो ।

यसै गरी निर्वाचन क्षेत्र २ का आधिकारिक उम्मेदवार देवेन्द्रराज कण्डेललाई समेत हराउन आफ्ना नजिकका कार्यकर्तालाई हलो चुनाव चिन्हमा भोट हाल्न योजनासहित निर्देशन गरी परिचालित गरेका थिए।

गत स्थानिय निर्वाचनमा समेत सोही प्रकारका क्रियाकलाप गरेको उजुरी समेत केन्द्रिय अनुशासन समितिमा परेको थियो। सोही आधारमा अनुशासनको कार्वाही प्रक्रिया स्वरुप श्रावण १६ गते ७ दिने स्पष्टीकरण पत्र काटिएको केन्द्रिय कार्यालयले जानकारी दिएको छ।
photo 2024 08 17 15 05 33

Related posts