अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज

बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले रु ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो।

पुलःनिर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको छ। विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उनले बताए।

यहाँ पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए। पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिए। ‘पुल बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ। किसानलाई उत्पादित सामान ओसारपसार गर्न र बजारसम्म लैजान सहज भएको हो’, उनले भने।

यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन्। सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताए।

स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अफ्ठयारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताए।

स्थानीयको निरन्तर प्रयासपछि एक सय ५२ मिटर लामो पुल बनेको भन्दै विस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। 

Related posts