कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताएका छन् ।
शुक्रबार कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देश बनाउने अभियानमा सबै लाग्नुपर्ने भन्दै नेपाल कृषिप्रधान मुलुक भएकाले कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि हासिल गर्नु आजको आवश्यकता रहेको बताए ।
विकासका थुप्रै सम्भावना हुँदा हुँदै देशको विकास हुन नसकेको बताउँदै अध्यक्ष लिङ्देनले भने, “हामीसँग थुप्रै प्राकृतिक स्रोत साधनहरू छन् जसको सदुपयोग हुन सकेको छैन ।”
हाइड्रोजनमा परिवर्तन गरी बिजुली बिक्री गरेर आम्दानी गर्न सकिने उनको भनाइ थियो । विकसित हुँदै गरेको सूचना प्रविधिको अधिकतम प्रयोग गरी कृषि, उद्योग, वाणिज्यलगायत क्षेत्रमा फड्को मार्न सकिने उनले धारणा राखे ।






