यसअघिको चुनावमा निकटतम प्रतिद्वन्द्वीका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट सकिबुल खानले उम्मेदवारी दिएका छन् । मधेश प्रदेश सरकारको वर्तमान भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको त्यो गृहवडा हो । मन्त्री यादवसहित एमालेका नेताहरु यहाँका जनताका लागि स्थानीयदेखि प्रदेश सरकारसम्म विभिन्न कार्यक्रम र योजना ल्याएको बताउँदै जनतासँग मत मागेका छन् । मन्त्री यादवले जनतालाई आफ्नो पार्टी एमालेलाई नै जिताउन भोट माग्दैछन् ।
चुनावी प्रतिस्पर्धामा मधेश र मधेशका लागि केवल जनता समाजवादी पार्टी नेपाल नै अब्बल रहेको दावीका साथ उपचुनावमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सो पार्टीका उम्मेदवार मो.नजामुद्दिन खानले यसपालिको चुनाव आफूले जित्ने दाबी गरे । उनले मधेश र मधेशीको हक, अधिकार स्थापित गराउनुदेखि लिएर मधेश र मधेशीका सबै एजेन्डा आफ्नो पार्टीले पूरा गराउने बताउँदै मत मागेका छन् । रामगोपालपुर–२ का जनताले सबै बेथिति र कमी कमजोरी अन्त्यका लागि आफूलाई मत दिएर जिताउने उनले विश्वास व्यक्त गरे ।
पार्टीगत उम्मेदवारीकै क्रममा आफ्नो पार्टीको निम्ति तराई मधेशलाई सधैंँ उर्वर भूमि मानेको नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका मो.जनिफ खान पनि जनताको विश्वास आफूमा भएकाले विजयी हुनेमा विश्वस्त छन् । उनले अन्य कुनै दलले मधेशको मुद्दालाई सम्बोधन गर्न नसक्ने केवल नेपाली काँग्रेस पार्टी नै मधेश र मधेशीको मुद्दा सम्बोधन गराउन सक्षम रहेकोले यस उपचुनावमा जितेर मधेश र मधेशी जनताको सम्पूर्ण मुद्दा सम्बोधन गर्ने दाबी गरे । यस वडामा विकासको नाउँमा भएका अनियमितता, नातावादको अन्त्य गर्न र विकासका लागि आफूले उम्मेदवारी दिएको उनले बताए ।
डा. सीके राउतले नेतृत्व गरेको जनमत पार्टीबाट वडाध्यक्ष पदमा ललिन्द्रकुमार साहले उम्मेदवारी दिएका छन्। उनले आफ्नो पार्टीले गत चुनावमा लडेर जितेका स्थानहरुमा विकासको लहर ल्याएको बताउँदै अहिले मधेश प्रदेशको मुख्यमन्त्री भएर विभिन्न लाभकारी योजनाहरु सञ्चालन गरिहेको र जनताको पक्षमा प्रदेशदेखि केन्द्रसम्म विभिन्न कार्यक्रमहरु गरिरहेकाले मौकाको फाइदा उठाउन आफूलाई मतदान गर्न आग्रह गरे ।
उनले यस वडाका सबै थिचोमिचोमा परेका, अन्याय अत्याचारमा परेका, दमन शोषणमा परेका जनता आफ्नो साथमा रहेको र यहाँ नयाँ परिवर्तन हेर्न चाहेकाले यसपालि यहाँ बिल्कुलै नयाँ राजनीतिक पार्टी ‘जनमत पार्टी’ ले नै मौका पाउने र जितेर जनताको जित स्थापित गर्ने बताए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिनुभएका खुर्सेद खानले वडाध्यक्षमा आफू निर्वाचित हुने दाबी गरेका छन् । देश र जनताको सेवामा समर्पित आफू रहेको उनले बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मो.मनान खान र राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिनुभएका राजेशकुमार यादवले जनताको सुखदुःखमा सधैंँ आफूले सहयोग गरेकाले आफूहरु नै चुनाव जित्नेमा विश्वस्त छन् ।
यी माथि उल्लिखित पार्टीगत उम्मेदवारका बाहेक यस वडामा १२ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाले वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् र सबैको आफू जित्ने दाबी रहेको छ । स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अशोककुमार यादव, गङ्गाप्रसाद यादव, धिरेन्द्रप्रसाद यादव, नजामुद्दिन खान, विमलेन्द्रकुमार यादव, मुकेश्वर ठाकुर, मो.अरमान रजा, मो.इमामुद्दिन खान, राकेशकुमार यादव, राजदेव यादव, रामऔतार यादव र विजयकुमार यादव छन् ।
निकै प्रतिस्पर्धा हुने यस वडाको वडाध्यक्षको उपनिर्वाचनमा कसको अस्तित्व बच्ने, कसको साख गुम्ने, प्रतिष्ठा कायम रहने, कसले मौका पाउने वा कस्तो चमत्कार हुने कुरा आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनले देखाउने नै छ । आठ पार्टीगत र १२ स्वतन्त्रसहित यस वडामा २० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए । उपनिर्वाचनमा नौ सय ४० जना महिलासहित दुई हजार एक सय ४१ जना मतदाता रहेका छन् ।






