पोखराविरुद्ध कर्णालीको सहज जित

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा कर्णालीले पाँचौं खेलमा तेस्रो जित हासिल गरेको छ। पोखराले दिएको १ सय ३ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १५ ओभरमा ३ विकेट गमाएर लक्ष्य पूरा गर्‍यो।

कर्णालीको जितमा चाडविक वाल्टनले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४२ रनको इनिङ खेल्दा गुल्सन झाले ३७ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४९ रनको अविजित इनिङ खेल्दै टिमको जित निश्चित गरे।

त्यसअघि कर्णालीका ओपनर देव खनाल शून्य र बाबर हायात ७ रनमै पेभिलयन फर्किँदा टिम सुरुवाती दबाबमा परेको थियो। तर, वाल्टन र झाले इनिङ्स सम्हाल्दा टोलीले सहज जित निकाल्यो। पोखराका लागि विपिन खत्री, सागर ढकाल र कुशल भुर्तेलले १–१ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली १ सय ३ रनमा अलआउट भएको थियो। पोखरालाई धारासायी बनाउन विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएका थिए।

बसिस्टो जारी एनपिएलको एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी बने। बोसिस्टोको घातक बलिङमा पोखराको मध्य र पछिल्लो क्रम धारासायि बनेको थियो। पोखरा १६.३ ओभरमा १०३ रन जोड्दा अलआउट भयो। पोखराले ५२ रन जोड्दा आफ्ना ९ विकेट गुमाएको थियो।

पोखराका लागि दिनेश खरेलले २६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै, आन्द्रेस गौसले २५ रन बनाउँदा रेमन रेफरले २० रन बनाए। त्यस्तै, कुशल भुर्तेलले १० रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा १० रन बनाएर रनआउट भएका थिए। पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भएको थियो।

कर्णालीका लागि बोसिस्टोले ४ ओभर बलिङ गर्दै २८ रन दिएर ६ विकेट लिँदा सोमपाल कामी, विपिन शर्मा र युनिस ठकुरीले समान १–१ विकेट लिएका थिए।

Related posts