क्वेटा । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ। फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्यूजले जनाएको छ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ।
घटना बिहीबार स्थानीय समयअनुसार ४ः०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए।
एआरवाई न्यूजले रिपोर्ट गरेअनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ। अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए। विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन्।
एआरवाई न्यूजका अनुसार चुनौतीपूर्ण मौसमका कारण सहयोगमा जटिलता आएको छ।






