भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी कम्तीमा तीन जना नेपालीको मृत्यु

काठमाडौँ। भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा मृत्यु हुनेमध्ये अहिलेसम्म तीन जना नेपालीको सनाखत भएको छ।

भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार अहिलेसम्म उक्त दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको र मृतकमध्ये तीन जना नेपालीको सनाखत भएको हो।

प्रकाशित समाचार अनुसार मृत्यु हुने नेपाली नागरिकहरूमा लछी पासी, नन्दराम विश्वकर्मा र कमला भण्डारी रहेका छन्। उनीहरू नेपाल कुन स्थानका हुन् भन्ने केही खुलाइएको छैन।

Times of India

बुधबार बेलुका पुष्पक एक्सप्रेस रेलमा आगो लागेको अफवाहका कारण भागदौड हुँदा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले ठक्कर दिँदा यात्रुहरूको मृत्यु भएको थियो।

भारतीय अधिकारीहरूका अनुसार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए।

त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिक भएको तर्फ भागेका थिए।

त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरूलाई ठक्कर दिएको थियो।

यसैबीच महाराष्ट्र राज्य सरकारले तत्काल राहतका लागि मृतकका परिवारलाई पाँच लाख भारतीय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।

Related posts