आजदेखि हङकङ हुँदै यात्रा गर्दा नेपाली नागरिकले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

काठमाडौँ, कात्तिक २९। हङकङ सरकारले आज नोभेम्बर १५ तारिखदेखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा अनिवार्यको नियम हटाएको छ । त्यहाँको सरकारले नेपाली राहदानी बाहक यात्रुलाई हङकङ ट्रान्जिट हुँदै नेपालबाट अन्य देशमा जाँदा तथा फर्कदा अत्यावश्यक ट्रान्जिट भिसाको प्रावधान हटाएको हो ।

यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्र रहने सर्तमा ट्रान्जिट भिसा नचाहिने भएको हो । नेपाली महावाणिज्य दूतावास हङकङले निरन्तर कूटनीतिक पहलपछि यस्तो निर्णय भएको जनाएको छ । निरन्तर कूटनीतिक पहल एवम् अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र हङकङ सरकारले यस्तो निर्णय गरेको दूतावासले जनाएको छ ।
नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्न भिसा दिनु पर्ने नियम लागू गरिएको थियो । ट्रान्जिट भिसा अनिवार्य गरिएका कारण नेपाली नागरिकले सास्ती भोग्दै आएका थिए । यस्तो बाध्यता हटेसँगै यो विमानस्थल हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुको यात्रा सहज हुने अपेक्षा गरिएको छ । हङकङ विमानस्थल संसारकै व्यस्तमध्ये एक विमानस्थल हो ।

Related posts