दोधारा चाँदनी (कञ्चनपुर), फागुन १८। मुलुकभर चुनावी रौनक छाइरहेका बेला कञ्चनपुरको दोधारा चाँदनी–३ स्थित बादी बस्ती सुनसान छ ।निर्वाचनको मिति नजिकिँदा दल तथा उम्मेदवार मतदाता रिझाउन व्यस्त छन् । तर गरिबी, अशिक्षा, बेरोजगारी जस्ता समस्याले आक्रान्त बडुवाल टोलस्थित सीमान्तकृत समुदायमा न राज्यको प्राथमिकतामा पर्यो, न त दल र उमेदवारका ।
उम्मेदवाहरु बस्तीमा नपुग्दा यहाँका स्थानीयलाई चुनावले छोएको छैन । भारतसँग सीमा जोडिएको यो बस्तीमा गरिबी, अशिक्षा, बेरोजगारी, हात्ती आतङ्क, बाढी तथा कटान, सुकुम्वासी समस्या, अवैध तस्करी र सीमा विवाद प्रमुख समस्याका रुपमा रहेको यहाँका स्थानीय सीता बादीले बताउनुभयो । “हाम्रो समस्या धेरै छन् उम्मेदवारहरु भोट माग्न आएनन् हामीले पनि हाम्रो पीडा सुनाउँथ्यौँ,” उहाँले भन्नुभयो, “सीमानामा हामी धेरै समस्या सहेर बसेका छौँ ।” हरेक चुनावमा भोट माग्न पुग्ने दल तथा उम्मेदवारहरु यसपटक घरदैलोमा नआएपछि बादी समुदाय माग राख्न नपाएकामा दुःखी छन् ।
सीमानाकाको बस्तीमा अनेक दुःख सहेर पनि सीमाको रक्षाका लागि यहाँ बसोबास गरिरहेको उहाँको भनाइ छ । “आर्थिक अवस्था कमजोर हुँदा यहाँका बालबालिका पढाइ छोडेर रोजगारीका लागि भारत जान बाध्य छन्,” यहाँका स्थानीय रेशम बादीले भन्नुभयो, “चुनावमा नेताहरु आउलान् र हाम्रो माग राखौँला भन्ने थियो भोट माग्न नेता नै आएनन् ।”
राष्ट्रिय जनगणना २०७८ अनुसार सुदूरपश्चिममा बादी समुदायको जनसङ्ख्या दुई हजार ५८० जना छ भने कञ्चनपुरमा मात्रै ४५८ जना छन् । गरिबी, भूमिहीन र अशिक्षाका कारण यो समुदायको अवस्था दयनीय छ ।






