काठमाडौं । गत सोमबारदेखि युएईबाट नेपाल आउने यात्रु मात्र ओसार्ने गरी उडान भरिरहेका वायुसेवा कम्पनीहरूले आजदेखि यताबाट पनि यात्रु लैजान पाउने भएका छन्।
साउदी अरेबियन वायुसेवा कम्पनी एयर अरेबियाले बिहीबारदेखि यहाँबाट युएई यात्रु लैजान थाले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोरोनाको र्यापिड पिसिआर परीक्षणको सुविधा नहुँदा युएईले प्रवेश खुला गरे पनि कोही जान पाएका थिएनन्। फ्लाई दुबईले समेत दुबईमा बढीमा ६ घन्टा ट्रान्जिट भएका यात्रु मात्र नेपालबाट लगिरहेको थियो। नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले दुबईबाट यात्रु ल्याउन मात्र उडान भर्दै आएका थिए।
विमानस्थल स्रोतका अनुसार एयर ट्रान्सपोर्ट अपरेसन दुबई सिभिल एभिएसन अथोरिटीले यसअघि कायम गरेको ४८ घन्टाभित्र गरेको कोरोना परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट र विमानस्थल परिसरमै उडान हुनुभन्दा चार घन्टाअघि गरेको र्यापिड पिसिआर परीक्षण नेगेटिभ रिपोर्टको सट्टा उडान हुनुभन्दा चार घन्टा पहिलेको पिसिआर परीक्षणको नेगेटिभ रिपोर्टलाई मान्यता दिन थालेपछि युएई उडान पुनः सुरु भएको हो।
सोही परीक्षणको आधारमा शनिबार रातिको उडानबाट हिमालय एयरलाइन्सले एक सय ५२ र एयर अरेबियाले एक सय ५५ यात्रु लगेका छन्। नेपाल वायुसेवा निगमले पनि सोमबार राति ११ः३० मा उडान गर्ने तयारी गरेको छ। निगमले सोमबारदेखि सातामा दुई उडान भर्ने तयारी गरेको छ। शनिबार हिमालय एयरलाइन्सले यात्रुलाई विमानस्थल मै बोलाएर स्वाब संकलन गरी पिसिआर परीक्षण गराएर उडाएको थियो।
दुबई सरकारले पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको भन्दै नेपालसहित भारत, पाकिस्तान, नाइजेरिया, श्रीलंका र युगान्डालाई अति जोखिम देशको सूचीमा राखेको छ। यसैबीच, अहिले मलेसिया, दुबई, दोहा, दिल्ली लगायत गन्तव्यमा नियमित उडान गरिरहेको निगमले जापान र हङकङ उडान सुरु गर्ने भएको छ।
कोरोनाको दोस्रो लहरसँगै तीन महिनादेखि बन्द रहेको उक्त गन्तव्यमा पुनः नियमित उडानको तयारी गरेको निगमले जनाएको छ।






