बिहादी–४ वाहकीका ऋषि भुसाल सम्मानित

पर्वत । पर्वतको बिहादी गाउँपालिका–४, वाहकीका ऋषि भुसाल सम्मानित भएका छन्। शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको प्रथम पूर्ण बैठकमा महासंघका केन्द्रीय कार्यालय सदस्य, गण्डकी प्रदेश संयोजक तथा अखिल नेपाल तरकारी उत्पादक किसान संघका संयोजक रिखिराम भुसाल (ऋषि) सम्मानित भएका हुन्।

भुसालले स्थानीय जनतालाई प्राङ्गारिक मलको प्रयोगतर्फ प्रोत्साहित गर्दै व्यावसायिक तरकारी खेती तथा नर्सरी उत्पादनमार्फत किसानहरूका लागि प्रेरणाको स्रोत बन्ने गरी कृषि क्षेत्रमा नमुनायोग्य काम गरेको भन्दै महासंघले सम्मानपत्रसहित सम्मान गरेको हो।
कृषि क्षेत्रमा स्थानीय किसानलाई व्यावसायिक रूपमा अघि बढाउन तथा प्राङ्गारिक खेतीलाई प्रोत्साहन गर्न भुसालले पुर्‍याएको योगदानको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको जनाइएको छ।

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, अखिल नेपाल किसान महासंघका बलदेव चौधरी, महासंघका संयोजक चित्रबहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

बिहादी–४ वाहकीबाट कृषि क्षेत्रमा सक्रिय भुसालले प्राप्त गरेको यो सम्मानले स्थानीय किसान तथा कृषि क्षेत्रमा लाग्ने युवाहरूलाई समेत थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ।

Related posts