अन्तरजातिय बिहे गरेका हुम्लाका युबकलाई माईती पक्षबाट कुटपिट गरि बेपत्ता पार्यो

मुगु । हुम्लाका एक युवकलाई अन्तरजातिय बिहे गरेको आरोपमा केटी पक्षका आफन्तले कुटपिट गरी बेपत्ता बनाएका छन् ।

हुम्ला सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु सोरु गाउँपालिका–४ स्थित लिप्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग एक महिना अगाडि भागी विवाह गरेका थिए। तर, केटीका आफन्तले कुटपिट गरी युवकलाई बेपत्ता बनाएको आरोप केटा पक्षको छ।

गत २९ मंसिरमा केटी पक्षका आफन्तले कामीको घरमै पुगेर चन्द्रे र सुन्तलीलाई माइती घरमा ल्याएर युवकलाई कुटपिट गरी बेपत्ता बनाएको युवकका परिवारले बताएका छन्। ठकुरीकी छोरीसँग कामीको छोराले विवाह गरेको भन्दै युवती पक्षले छोरालाई निर्घात कुटपिट गर्नुका साथै तीन दिनदेखि बेपत्ता पारेको चन्द्रेका बुवा धनजय कामीले बताए।

केटी पक्षका मान्छे आएर छोरा र बुहारीलाई लिएर गएको र तीन दिनदेखि छोरा सम्पर्कविहीन रहेको उनको भनाइ छ। तर, सुन्तली भने गाउँमै भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। युवकको खोजी भइरहेको हुम्ला जिल्लाका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए। उनका अनुसार घटनाको जानकारी आउने बित्तिकै खोजी कार्य थालिएको हो।

गत ५ मंसिरमा चन्द्रे र सुन्तलीले भागी विवाह गरेका थिए। २९ मंसिरमा केटी पक्षमा मान्छे आएर बुहारी र छोरालाई लिएर गएको धनजय कामीले बताए। छोराबुहारी लैजाने क्रममा आफूहरूमाथि दुर्व्यवहार भएको उनले गुनासो गरे।

छोरा र बुहारीलाई अपहरण र कुटपिट गरेपछि आफूले १ पुसमा प्रहरीलाई जानकारी गराएको उनले बताए। छोरीलाई घरमा राखेर केटालाई बेपत्ता बनाएको आफूले जानकारी पाएको सर्केगाड–१ का वडा अध्यक्ष गोकुल बुढाले बताए।

Related posts