आर्मी र एपीएफबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि सुरुआत भएको सातौँ चरणको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुङ्गिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली एपिएफसँग १–१ गोलको बराबरीमा रोकिएको हो।

पहिलो हाफसम्म गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोली खेलको दोस्रो हाफमा एक एक गोल गरे। खेलको ६३ औँ मिनेटमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाए।

दिनेश हेन्जनको पासमा एपीएफका चार डिफेन्डर र गोलकिपरलाई छलाउँदै कार्कीले पेनाल्टी एरियाको बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुम्यो तर आर्मीको त्यो एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको ६७ औँ मिनेटमा एपिएफका बिकी तामाङले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। उनले कप्तान नवीन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाएपछि आएको रिबाउन्ड बलमा गोल गरेका हुन्।

यो बराबरी खेलसँगै आर्मीले सात खेलमा ११ अङ्क जोडेको छ। आर्मी अङ्क तालिकाको चौँथो स्थानमा छ । समान खेल खेलको एपीएफले ६ अङ्क जोड्दै अङ्क तालिकाको ११ औँ स्थानमा रहेको छ। रासस

Related posts