एमालेले माग्यो स्वास्थ्य मन्त्री खतिवडाको राजिनामा

काठमाडौं, फागुन ३ । नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ । कोभिडविरुद्ध पहिलो खोप किनेर लगाएको मन्त्री खतिवडाको दाबी झुटो भएको भन्दै एमालेले राजीनामा मागेको हो ।

एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गरेर मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले अनुदानबाट प्राप्त गरेका र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्न सरकारका तर्फबाट प्रयासहरु भइरहेका छन् । यसै सन्दर्भमा स्वास्थ्यमन्त्री खतिवडाले ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयंले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ । सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ ।’

तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षरसमेत गरेको भट्टराईले स्मरण गराएका छन् ।

Related posts