भ्रष्टाचारविरुद्ध कार्टुन निशाना बुटवलमा प्रदर्शन

बुटवल । भ्रष्टाचारविरुद्ध बुटवलमा कार्टुनिष्टहरुले निशाना प्रदर्शन गरेका छन्। कार्टुनिष्ट क्लब अफ नेपालको आयोजनामा आइतबारदेखि दुई दिने प्रदर्शनी सुरु भएको हो।

नेपालका चर्चित ३६ जना कार्टुनिष्टहरुले भ्रष्टाचारविरुद्धको सन्देश दिने ५० वटा कार्टुन प्रदर्शनीमा राखिएको छ। प्रदर्शनीको लुम्बिनी प्रदेशका सभामुख पूर्ण बहादुर घर्तीले उद्घाटन गरेका हुन्। उद्घाटनका अवसरमा बोल्दै सभामुख घर्तीले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि कार्टुनले सतर्कता बनाएको बताए। कार्टुनमा नेपाली समाजमा देखिएको समस्याहरुलाई ब्यंग्यात्मक रुपमा सतर्क रहन बनाएको उनले बताए। उनले भ्रष्टाचार सभ्य समाज र विकासको बाधक रहेको बताए।

कार्टुनहरुले नेपालको वर्तमान अवस्थालाई कार्टुनमार्फत व्यंग्य गरिएको छ। काटुर्नहरुमा कर्मचारी र मन्त्रीले छोटो समयमा अस्वाभाविक रुपमा सम्पत्ति जोडेको, बिनास्रोत र विनाश्रम रातारात धनी बन्‍ने प्रवृत्तिलाई तिखो प्रहार रुपमा प्रहार गरिएको छ। कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष एवं नेपालका चर्चित काटुनिष्ट वासु क्षितिजले संघीयतामा मूलुक गएपछि विकाससँगै भ्रष्टाचार पनि तल्लो तहसम्म पुगेको बताउँदै जनप्रतनिधि र नागरिकहरुलाई सर्तक बनाउन बुटवलमा निशाना शुरु गरिएको बताए।

विकृति–विसंगतीविरुद्ध रङ, रेखा र शब्दमार्फत उनीहरूले भ्रष्टाचारविरूद्ध लाग्‍न समुदायलाई नै आह्वान गरेका छन्। प्रदर्शनीमा सहभागीहरुले निशानाले समाजको यर्थाथलाई उत्कृष्ट रुपमा प्रहार गरेको बताएका छन। उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, केशवराज खनाल, प्रगतिशील पत्रकार संघ लुम्बिनीका अध्यक्ष कविराज पौडेल, कार्टुनिष्ट क्लब अफ नेपालका उपाध्यक्ष देवेन्द्र थुम्केली, महासचिव रवि मिश्र, केशव खनाल, कलाकार सुमित्रा राना लगायतले बोलेका थिए।

Related posts