बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भष्ट्राचार मुद्दा दर्ता

बागलुङ, भदाै १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्वजनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिलेमतोमा ढुङ्गा, गिट्टी तथा बालुवा विक्रीबापत बागलुङ नगरपालिकालाई हानी नोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै मुद्दा दर्ता गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पूर्वनगरप्रमुख सुरेन्द्र खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष जीवन आचार्य, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हिमालयजीवि उपाध्याय र तत्कालीन राजस्व शाखा सदस्य–सचिव काशिराम शर्माविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता भएको हो ।

भण्डारीका अनुसार गण्डकी प्रदेशले तोकेको दरभन्दा कम कर सङ्कलन गरी नेपाल सरकारलाई रु १७ लाख ४० हजार ६६ हानी नोक्सानी पुर्‍याई भ्रष्ट्राचारजन्य कार्य गरेको पुष्टी हुन आएकाले पूर्वजनप्रतिनिधि र कर्मचारीलाई विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।

पूर्वजनप्रतिनिधि कर्मचारीलाई हानी नोक्सानी पुर्‍याएको रकमको दोब्बर रु ३४ लाख ८० हजार एक सय ३२ जनप्रतिनिधि र कर्मचारीलाई प्रतिव्यक्ति बिगो दाबीगरी मुद्दा दर्ता गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

Related posts