बाँकेमा कर्तव्य ज्यान मुद्दामा फरार अभियुक्त पक्राउ

बाँके, फाल्गुन १२ । कर्तव्य ज्यान मुद्दामा करिब ९ महिनादेखि फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका – ५ मटेहियाका २३ बर्षीय लालमणि यादव रहेको छ ।

कुटपिटबाट घाइते नरैनापुर गाउँपालिका– ५ मटेहियाका रामपाल यादवको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा सोमबार नेपाल–भारत सीमानाकाबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए।

सीमा क्षेत्र नरैनापुर गाउँपालिका– ५ हुलासपुर्वामा लुकिछिपी बसिरहेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

गाईवस्तु चराउने काम गर्दै आएका मृतक रामपाललाई मुन्सीप्रसाद यादव, गोब्रे राँढ, लालमणि यादव, राजकुमार धोबी र शिवराज धोबीले कुटपिट गरी घाइते बनाएको आरोप छ। यादवको ३ जेठ ०७९ मा उपचारको क्रममा मृत्यु भएको थियो।

फरार रहेका अन्य अभियुक्तको खोजी भइरहेको प्रहरी निरीक्षक सुनारले बताए। छोरा रामपाललाई रुखमा बाँधेर कुटपिट गरी हत्या गरेको रामपालकी आमा मुन्नी यादवले दायर गरेको जाहेरीमा उल्लेख छ।

Related posts