कैलालीमा उद्योग सञ्चालककै घरमा अवैध १५३ दशमलव ६८ क्युफिट अवैध काठ फेला

धनगढी, चैत्र १३ । कैलालीको घोडाघोडी नगरपालिका- ४ गणेशपुरबाट फागुन ५ गते २३३ क्युफिट अवैध काठ बरामद गरेको छ ।

सुखड सव–डिभिजन वन कार्यालयले गणेशपुरमा रहेको सुनिता काष्ठ तथा स्टिल फर्निचर उद्योगबाट ८० क्युफिट र उद्योग सञ्चालक यज्ञराज आचार्यको घरबाट १५३ दशमलव ६८ क्युफिट अवैध सालको गोलिया चिरान काठ बरामद गरेको हो।

तर, वन अधिकारीले काठ चोरी तस्करीमा संलग्न फर्निचर उद्योग सञ्चालक यज्ञराज आचार्यलाई काठ बरामद भएको एक हप्ता भइसक्दा पनि पक्राउ गरेको छैन । वन अधिकारीले आचार्यलाई उन्मुक्ति दिन पक्राउ नगरेको स्थानीयले आरोप लगाएको छ ।

स्थानीयले वन अधिकारी र प्रहरी आएर मिलबाट तीन ट्रली मिलाएको झ्याल ढोका र चार वटा सालका गोलिया बरामद गरेको बताएका छन्। तर, अवैध काठ संकलन गर्ने मिल सञ्चालकलाई पक्राउ गरेर वन मुद्दा चलाउन वन अधिकारीले नचाहेको स्रोतले बतायो। वन अधिकारीले राजनीतिक दबाबका कारण संलग्नलाई पक्राउ गर्न र मुद्दा चलाउन नसकेको बताइएको छ।

सुखड सव– डिभिजन वन कार्यालयले यज्ञराज आचार्यको फर्निचर उद्योग र घरबाट  अवैध सालको चिरान गरेको र गोलिया काठ बरामद भएको पुष्टि गरेको छ । सुखड सव–डिभिजन प्रमुख सोमलाल घलानले २३३ क्युफिट काठ बरामद भएको बताए। तर आचार्यलाई भने पक्राउ गर्न नसकेकाले मुद्दा दर्ता नभएको उनले बताए।

‘हामीले यज्ञराज आचार्यले सञ्चालन गरेको फर्निचर उद्योगबाट करिब ८० क्युफिट र उनको घरबाट १५३ दशमलव ६८ क्युफिट सालको काठ बरामद गरेको हो’, उनले भने, ‘यो विषयमा थप अनुसन्धान चलिरहेको छ भने आचार्यलाई पक्राउ गर्न भने सकिएको छैन।’

सुखड सव–डिभिजन प्रमुख घलानले अनुसन्धान टुङ्गोमा पुगेपछि मुद्दा दर्ता गरिने बताए पनि स्थानीयले वन कर्मचारीले दोषीलाई पक्राउ गर्न नचाहेको आरोप लगाएका छन् । सेटिङमा घटना सामसुम पार्न खोजेको स्थानीयले आशंका गरेका छन् । पहलमानपुर डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत गोकुल रिजालले अनुसन्धान अधिकारी तोकेका छौँ, अदालतबाट पक्राउ आदेश मागेर पक्राउ गर्ने बताए। यसमा कुनै मिलेमतो हुने र घटना लुकाउने काम कहिँकतैबाट नहुँने दाबी गरे।

तर स्थानीयले भने राजनीतिक दबाब र वन कर्मचारीको मिलेमतोमा घटना लुकाउने प्रयास भइरहेको बताउँदै आएका छन्।

Related posts