काठमाडौं । नेतृ रामकुमारी झाँक्रीले एमालेमा देखिएको विवाद समाधान गर्न गठित कार्यदलमा आइतबार राती भएको १० बुँदे सम्झौतालाई स्वागत गर्न हतार गर्न नहुने बताएकी छन्। नेतृ झाँक्रीले सोमबार ट्वीट गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेर १० बुँदे सम्झौताबारे संस्थागत धारणा आउने बताउँदै स्वागत गर्न हतार गर्न नहुने उल्लेख गरेकी हुन्।
उनले प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको हस्ताक्षर फिर्ता नहुने बताएकी छन्। अदालतको निर्णयलाई प्रभावित गर्ने गरी हस्ताक्षर फिर्ता नहुने उनको भनाइ छ। ‘अदालतमा निवेदकको रूपमा रहेका हामी सांसदहरूले अदालतको निर्णय प्रभावित हुने गरी फिर्ता लिइँदैन। लिने कुरा आउँदैन, झाँक्रीले लेखेकी छन्।
नेतृ झाँक्रीले अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको स्थायी कमिटी बैठकमा आफूहरू सहभागी नहुने बताएकी छन्। स्थायी कमिटीको बैठकमा जानेबारे सामान्य बैठकको कार्यविधि निर्धारण नगरी यो सम्झौता कार्यान्वयन योग्य हुँदैन। बैठकमा जाने कुरा हुन्न,’ झाँक्रीले लेखेकी छन्।






